रेडक्रस अन्तर्राष्ट्रिय महासङ्घको महासचिवमा फेरि चापागाईं

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, ०६ : ४९
रेडक्रस अन्तर्राष्ट्रिय महासङ्घको महासचिवमा फेरि चापागाईं

काठमाडौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन् ।  

चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हालिसकेका थिए ।  स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय  भएको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म  आइएफआरसीको सर्वाेच्च पदको नेतृत्व गर्नेछन् । 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए  ।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग  गर्दैआएको छ । 

दोस्रो कार्यकालको पदावधि थपपछि उनले भने, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस