४६ वर्षपछि जग्गाधनी पुर्जा

रासस

बुधबार, २७ बैशाख २०८०, १२ : ५९
४६ वर्षपछि जग्गाधनी पुर्जा

काभ्रेपलाञ्चोक। धुलिखेल नगरपालिका-५ श्रीखण्डपुरका दुई सय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् ।

तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् ।

यसयता २०५४ सालका जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताए ।  उनले भने, ‘त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन।’ उनका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय र पहलमा नागरिकले भूकम्पपछिको पुनर्निर्माण गर्न सम्भव भएको थियो ।

२०६७ सालमा डिजिटल नापी कार्यालयमार्फत पुनःनापी गरिए पनि सिमाङ्कन विवाद, भुकम्प, कोरोनालगायतका कारण देखाउँदै प्रक्रिया अघि नबढाइएको बताइन्छ । उनले पुर्जा तयार भएका जग्गा धनीलाई सोबारदेखि पुर्जा वितरण गरेका छन् । ‘प्रक्रिया पुर्‍याइ पुर्जा तयार भएर आएकालाई क्रमैसँग वितरण गर्दै गइनेछ”, उनले भने ।

डिजिटल नापी कार्यालय बनेपाले भने पुर्जा पाउन छुट भएका नागरिकलाई ६० दिनभित्र कागजातसहित प्रक्रियामा आउन भनेको छ । कार्यालय प्रमुख सरस्वती धितालका अनुसार डिजिटल नापी सुरु भएको १३ वर्षपछि पुर्जा वितरण गर्न सम्भव भएको हो ।

‘छुट भएका नागरिकलाई ६० दिनभित्र प्रक्रियामा आउन अनुरोध गरेका छौँ” उनले भने । उनका अनुसार १ सय २० दिनपछि सबै श्रेस्ता मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी प्रक्रिया रहेकाले नागरिकलाई समयमै उजुरी गर्न अनुरोध गरिएको हो।

कार्यालयले पुर्जा भएका नागरिकलाई पनि नयाँ प्रणालीअनसार डिजिटल पुर्जा वितरण गर्दै आएको छ । श्रीखण्डपुरमा विसं २०३४ सालमा नापी भएको २०७ नं कित्ताको एक प्लटमा २८ रोपनी ५ आना जग्गामा २०६६ सालसम्ममा ८५ घर परिवारको बसोबास रहँदै आएको थियो ।

उक्त स्थानमा एक आना मात्रै जमिन भएका नागरिकको पनि बसोबास रहेको छ । स्थानीय नागरिक पुर्जा प्राप्त भएपछि खुसी भएका छन् । स्थानीयले पुर्जा नहुँदा ‘अचल जमिन’ बैकमा राखेर गर्जो धान्नसमेत सकेका थिएनन् ।

भूकम्पका समयमा पनि पुनर्निर्माणका लागि सम्झौताका लागि पुर्जा अनिवार्य गरिँदा लामो समय अनुदानबाट सोही क्षेत्रका नागरिक बञ्चित रहेको वडाध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । ‘अझै केही प्लटको जमिन डिजिटल नापी हुन बाँकी रहेकाले छुट भएका नागरिकको पुनः नाप जाँच गराएर पुर्जा वितरण गर्ने प्रक्रियाका लागि सहजीकरण गर्दै जानेछौँ’ उनले भने ।

उनका अनुसार जग्गाधनी पुर्जा पाएपछि यसअघि भोग्नुपर्ने नागरिकता प्राप्ति लगायतकै समस्याबाट स्थानीय मुक्त भएका छन् । अबका केही दिनमा साबिक श्रीखण्डपुर गाविस-१ का ३२, वडा नं २ का ९३ र वडा नं ३ का १ सय पाँच जनाले डिजिटल नापी पछिको पुर्जा प्राप्त गर्ने जनाइएको छ । नापी कार्यालयका अनुसार पूर्जा दिने तयारी भएका नागरिकको जग्गा हालसाबिक भैसकेको छ ।

नगर कार्यालयले यसअघि धुलिखेल नगरको वडा नं ८ र ९ मा पर्ने श्रीखण्डपुरमा  ८ न वडाका नागरिकलाई पुर्जा वितरण गरिसकिएको छ। यो प्रक्रियालाई निरन्तर अघि बढाइनेसमेत नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस