सहकारीले फेरिदियो खैरहनीका महिलाको दैनिकी

सूर्यप्रकाश कँडेल

मंगलबार, ०८ साउन २०७५, १४ : २४
सहकारीले फेरिदियो खैरहनीका महिलाको दैनिकी

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ की इन्दिरा सुवेदीको परिवारलाई केही वर्ष पहिलेसम्म घर व्यवहार चलाउन मुश्किल पथ्र्यो । खैरहनीमा महिलाहरुले सञ्चालन गरेको मुस्कान बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भई ऋण लिएर गाईपालन गरेपछि सुवेदीको दैनिकी फेरिएको छ । सुवेदी अहिले मासिक तीस हजार रुपैयाँभन्दा आम्दानी गर्न सफल भएकी छिन् ।
‘२०६७ सालमा सहकारीमा आवद्ध भएँ । त्यसपछि २० हजार रुपैयाँ सहकारीबाट बिनाधितो ऋण लगेर सानो बाच्छी किनेँ’ उनले भनिन्, ‘पछि एउटा गाई किन्न ५० हजार ऋण संस्थाबाट पाएँ । अहिले तिनै गाईलाई हुर्काएर गोठमा सात वटा गाई छन् ।’ दूध बेचेर नै परिवारको गुजारा चलाउँदै आएको र छोराछोरीको पढाई खर्च धानेको उनले बताइन् । ‘गोठमा रहेका सातमध्ये तीन वटा गाई दुहुना छन् । दैनिक २५ लिटरसम्म दूध बेच्छु । अहिले घर खर्च चलाउन सहज भएको छ’ सुवेदीले भनिन्, ‘अहिले सहकारीको ऋण पनि तिरिसकेँ ।’ 
सानोतिनो काम आँटेपनि ऋण नै काढ्नुपर्ने अवस्थाबाट अहिले उनीमात्र होइन, सोही ठाउँकी सरस्वती बर्तौला पनि मुक्त भएकी छिन् । कुमरोजमा बसेर तरकारी किन्ने अवस्थामा रहेकी बर्तौलाले दुई वर्षअघि सहकारीबाट ५० हजार रुपैयाँ ऋण लगेर तरकारीखेती गर्न थालेपछि उनले मनग्य आम्दानी गर्न थालेकी छिन् । २०६१ सालमा सहकारीमा आवद्ध भएपनि उनले सुरुमा कुनै काममा हात हालिनन् । गाउँमा सबैले व्यवसाय गर्न थालेपछि उनले तरकारीखेती सुरु गरिन् । अहिले उनले पाँच कठ्ठा जमिनमा तरकारीखेती गरेकी छिन् । उत्पादित तरकारी सहकारी संस्थाले खोलेको तरकारी केन्द्रमा लगेर बेच्छिन् । ‘तरकारी बेचेको आम्दानीले छोराछोरी बोर्डिङ्मा पढाएकी छु । आफ्नो घर खर्च पनि यसैबाट चलेको छ’ उनले भनिन्, ‘पैसाको लागि श्रीमानसँग हात थाप्न परेको छैन ।’ज्याला मजदुरी गरेको रकम महिलाद्वारा सञ्चालित सहकारीमा जम्मा गर्ने र त्यहीँबाट ऋण लिएर व्यवसाय गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्न थालेका हुन् ।

महिलाको सक्रियतामा २०५८ सालमा स्थापना भएको मुस्कान सहकारीमा आठ सय ५० जना महिला आवद्ध छन् । चार हजार छ सय रुपैयाँबाट सुरु भएको सहकारीमा अहिले संस्थाको पुँजी एक करोड ५० लाख पुगेको संस्थाकी अध्यक्ष खिलकुमारी सिलवाल बताउँछिन् ।  ‘४६ जना महिलाले जनही एक सय रुपैयाँ उठाएर सहकारी संस्था खोलेका हौँ । बचत गर्दागर्दै डेढ करोड रुपैयाँ पुगेको छ’ उनले भनिन्, ‘बिनाधितो १२ प्रतिशत ब्याजदरमा ऋण दिने गरेका छौँ ।’ सहकारीले पशुपालन, तरकारीखेती, मौरीपालन, कुखुरापालन व्यवसायमा लगानी गर्दै आएको छ । एक जना शेयर सदस्यलाई २० हजारदेखि एक लाखसम्म ऋण दिने गरेको सिलवालले बताइन् । 
संस्थाले मासिकरुपमा बचत संकलन गर्ने र ऋणको ब्याज उठाउने गर्दछ । सदस्यहरुले मासिक ५० रुपैयाँभन्दा बढी रकम बचत गर्ने गरेको उनले बताइन् । बचत संकलन गर्नको लागि साविक कुमरोज गाविसका नौ वटा वडामा सेवा केन्द्र स्थापना गरिएको छ । सहकारीले खोलेको तरकारी बिक्री केन्द्रमा तीन जनाले रोजगारी पाएका छन् । घरायसी काममा सिमित महिला सहकारीमा आवद्ध भएसँगै आयआर्जनमा सकृय हुन थालेका छन् । आर्थिक तथा सामाजिक रुपमा महिलाहरु आत्मनिर्भर भएपछि महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको संस्थाकी लेखा संयोजक दुर्गा उप्रेतीले बताइन् । समाजमा हुने महिला हिंसा रोक्नको लागि सहकारीमार्फत चेतनामुलक कार्यक्रम गर्दै आएको उनले बताइन् । ‘महिला हिंसा न्यूनीकरण गर्नका लागि टोलटोलमा हामीले निगरानी समूह बनाएका छौँ’ उनले भनिन्, ‘टोलमा केही भए हामीले समयमै समाधान गर्छौं ।’
 

प्रतिक्रिया दिनुहोस