सरकारको विरोध गर्न कुनै मुद्दा नपाएपछि कांग्रेसले मार्सी चामलको विज्ञापन गर्‍यो

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १३ : ०७
सरकारको विरोध गर्न  कुनै मुद्दा नपाएपछि  कांग्रेसले  मार्सी चामलको विज्ञापन गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै मुद्दा नपाएपछि सरकारको विरोध गर्न मार्सी धानको भात खाएको विषय उछालेको बताएका छन् ।

मंगलबार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी निकटका पत्रकारहरुसँगको आन्तरिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामबाट आत्तिएर कांग्रेसले मार्सी चामलको विज्ञापन गरेर हिँडेको बताए ।

सरकारले पाँच वर्षभित्र सबैलाई खान पाउने, लाउन पाइने बस्न पाउने व्यवस्था  गर्न लागेपछि नेपाली कांग्रेसमा पार्टीको साइबोर्डमात्र रहनेभएपछि उनीहरु आत्तिएको बताउँदै ओलीले भारतबाट आएको बासमती चामल खाएर मार्सी चामलको विरोध नगर्न आग्रह गरे ।
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा अर्का अध्यक्ष प्रचण्ड र आफू एउटा अर्कै सन्र्दभमा गएर खाना खाएको विषयलाई केही मुद्दा नपाएपछि कांग्रेसले ठूलो मुद्दा बनाएको भन्दै कटाक्ष गरे ।

उनले भने–‘अहिले बासमती चामल खानेहरु कराएका छन् मार्सी चामल खायो भनेर । त्यो कालो चामल त्यति मिठो पनि हुँदैन । हामीले दुर्गाजीकोमा एउटा सन्र्दभमा खाएका हौँ, यसमा लुकाउनुपर्ने आवश्यकता केही छैन । विपक्षी आत्तिएको छ, मुद्दा केही छैन, मार्सी चामलको विज्ञापन गरेर हिँडेको छ ।’

कांग्रेसले छिर्के हान्न खोज्यो
प्रतिपक्षीले सत्ताविमुख भएपछि छिर्के हानेर, जर्सी च्यातेर गोल गर्न खोजेको भन्दै उनले कटाक्ष गरे । उनले तीन वर्षभित्रै तीव्र आर्थिक विकास भएको मुलुकमा देशलाई रूपान्तरण गर्ने बताउँदै कानमा तेल हालेर बस्न जनताले बहुमत नदिएको प्रष्ट पारे । “हामी विकास–योजनाको प्रोफाइल तयार पार्दैछौँ । त्यसैले अहिले नै परिणाम नदेखिएको हो,” उनको प्रष्टोक्ति थियो ।

प्रतिपक्षी पार्टीको साइन बोर्डबाहेक केही बाँकी नरहने, कार्यकर्तासमेत नरहने भएपछि आत्तिएर कोकोहोलो मच्चाइरहेको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस