दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

रासस

शुक्रबार, २२ बैशाख २०८०, ११ : १९
दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर । पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ ।जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ । 

स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताए । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उनले भने, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ । 

बाहिरबाट आएका व्यक्तिले चुरोट, गाँजा खाएर फालेका ठुटो तथा बियरका बोतलहरू नदी किनारमा छरपस्टै फालिएका छन् । “बाहिरबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिक सामान नदी किनारमा फालिएका छन्”, उनले भने, “जसले गर्दा नदी किनार प्रदूषितसमेत बनेको छ ।” 

मध्यविन्दु–३ का वडा सदस्य लोकनाथ अर्यालले पर्यटकीय क्षेत्र भएकाले मान्छे आएर रमाइलो गर्नु सामान्य भएको प्रतिक्रिया दिए । “यो ठाउँ पर्यटकीय दृष्टिकोणका रूपमा विकास भइरहेको छ”, उनले भने, “यस्तो अवस्थामा मान्छे आउनु, रमाइलो गर्नु भनेको सामान्य विषय हो ।” नदी किनारमा आउने मान्छेहरू यहाँको रमणीय दृश्य हेर्दै मनोरञ्जनकै लागि आउने गरेको उनको भनाइ छ ।
 
उनले भने, “तर किशोर दुर्व्यसनीमा फस्नु भनेको राम्रो होइन, यो विषयमा हामीले भर्खरै जानकारी पाएकाले अब कसरी अगाडि बढ्दा ठीक हुन्छ स्थानीयवासीसँग छलफल गरेर अघि बढ्छौँ ।” नदी किनारमा धेरै होटल खुलेको भए पनि मानिस होटलमा भन्दा पनि खुल्ला ठाउँमा बसेर दृश्यावलोकन रमाउने गरेको अर्यालको भनाइ छ ।

स्थानीय लालबहादुर विकले नदी किनार लागुपदार्थको अखडा बन्दै गएको अवस्थामा परिवारसहित त्यहाँ जान पनि अप्ठ्यारो हुने गरेको बताए । 
 

प्रतिक्रिया दिनुहोस