एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण नगरे कारबाही

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, ०७ : ४२
एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण नगरे कारबाही

काठमाडौ । एम्बुलेन्सहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नेगरी निर्देशिका जारी गरेको स्वास्थ्य मन्त्रालयले सोहीअनुसार सेवा दिन सूचित गरेको छ ।

मन्त्रालयले निर्देशिकाबमोजिम मापदण्ड पूरा गरेर एम्बुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एम्बुलेन्स सञ्जालमा आबद्ध हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

३५ दिनभित्र सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५३ बमोजिम कारबाही हुने मन्त्रालयले स्पष्ट गरेको छ । 

मन्त्रालयका अनुसार हाल नेपालभर १०२ अङ्कको टेलिफोनबाट एम्बुलेन्स प्राप्त गर्ने व्यवस्था भएको छ ।  सो कार्यको सहजीकरण प्रेषण केन्द्रहरूले गर्ने व्यवस्था भएको जानकारी दिँदै मन्त्रालयले सबैको पहुँचमा पुग्ने गरी एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणहरू अपडेट गर्ने कार्य भइरहेको जनाएको छ । 

तर, दुई, दुई वर्षमा सञ्चालन अनुमति नवीकरण गर्नुपर्ने व्यवस्था भएपनि कतिपय एम्बुलेन्स सञ्चालकहरूले सञ्चालन अनुमति एवम् नवीकरण नगरिकन सञ्चालन गरेको पाइएकाले मन्त्रालयले बुधबार ३५ दिने सूचना निकालेको हो ।

प्रतिक्रिया दिनुहोस