कानुनमन्त्री तामाङको अभिव्यक्ति र प्रधानमन्त्रीको मौनताप्रति आपत्ति

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १८ : ४२
कानुनमन्त्री तामाङको अभिव्यक्ति र प्रधानमन्त्रीको मौनताप्रति आपत्ति


काठमाडौं ।  नेपाली काङग्रेस र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

काङ्ग्रेस प्रवक्ता बिश्वप्रकास शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री तामाङको टिप्पणीप्रति आपत्ति जनाएका हुन् । ‘सत्तापक्षधर केही व्यक्तिहरुबाट अभिव्यक्त आपत्तिजनक धारणालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । खासगरी वंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक छन् । एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो’ विज्ञप्तिमा भनिएको छ । यद्यपी मन्त्री तामाङले आफ्नो टिप्पणीप्रति आइतबारै माफी मागिसकेका छन् ।

यस्तै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री तामाङको टिप्पणी दुखद रहेको भन्दै यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । यस्तै झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी आपत्तिजनक रहेको श्रेष्ठले बताएका छन् । श्रेष्ठले प्रसाईलाई उक्त विषयमा आत्माआलोचना गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस