दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

आइतबार, ०६ साउन २०७५, ०८ : ५५
दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

दमक  । मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उहाँ सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८.३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि दमकतर्फ लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

पाल्पामा दुर्घटना
पाल्पा  । पाल्पाको तानसेन नगरपालिका–८, डुम्रेचोकमा पिकअप जीप र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल पछाडि बसेका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–१४, अर्गेलीका २३ वर्षीय कृष्ण पुन रहेका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ च ४०८० नंको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु २९ प ७०२१ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनामा परी मोटरसाइकल चालक तानसेन अर्गलीका २७ वर्षीय विनोद थापाको घाइते भएका छन् र मोटरसाइकल पछाडि सवार पुनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषतर्फ लैजाँदा बाटोमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक २७ वर्षीय विनोद थापाको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रभाष प्रहरी चौकीले जनाएको छ । दुवै सवारीसाधन तथा जीप चालक प्रहरीको नियन्त्रणमा रहेको छ । (रासस)

 

प्रतिक्रिया दिनुहोस