विराटनगरका मेयरलाई भरतपुरमा स्वगत

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०७५, १४ : ०७
विराटनगरका मेयरलाई भरतपुरमा स्वगत

चितवन । भरतपुर महानगरपालिकामा विराटनगर महानगरपालिका प्रमुखलाई स्वागत गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले शनिवार भरतपुर महानगरमा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र उहाँको टोलीलाई स्वागत गर्नु भएको हो ।
कार्यक्रममलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले दुई  महानगरपालिकाबीच विकास र समृद्धि हासिल गर्ने सवालमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । दाहालले देशकै मध्यभागमा रहेको भरतपुर महानगरलाई देशकै नमुना महानगर बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनु भयो ।  दिगो र आत्मनिर्भर विकासबाट मात्र राष्ट्रलाई समृद्ध बनाउन सकिने बताउँदै उहाँले ठूला र रणनैतिक महत्वका योजनाहरूको अध्ययन भैरहेको बताउनु भयो । प्रमुख दाहालले  महानगरभित्र रिङ्गरोड रोड र लिङ्करोडको काम सुरू गरिएको जानकारी गराउनु भयो ।


कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पराजुलीले भरतपुर महानगरले विकास निर्माण, सुशासन र सामाजिक विकासको क्षेत्रमा गरेका कामहरूको उच्च प्रशंसा गर्नुभयो ।  प्रमुख पराजुलीले भरतपुर महानगरले फोहरमैला व्यवस्थापन, विकास निर्माणका काम जनसहभगिताबाट गर्नु महत्वपूर्ण रहेको भन्दै विराटनगर महानगरले पनि भरतपुरको अनुशरण गर्न चाहेको बताउनु भयो । उहाँले विराटनगर महानगरपालिका विकासको साझा सवालमा सहकार्य गरेर अगाडि बढ्न आतुर रहेको समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर महानगरपालिकाले हालसम्म गरेका कामहरूको अनुभव र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका भित्रका वडा अध्यक्षहरू तथा महानगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो । विराटनगर महानगरपालिकाको टोलीले भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन, शहरी सडक तथा महानगरपालिकाको कार्यालय व्यवस्थापनको अवलोकन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस