त्रिभुवन विमानस्थलसँग सम्पर्क टुट्दा एक घण्टा आकाशमै अड्किए जहाज

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १५ : ४४
त्रिभुवन विमानस्थलसँग सम्पर्क टुट्दा एक घण्टा आकाशमै अड्किए जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाजसँग करीब १ घण्टा सम्पर्क टुट्न पुग्यो ।विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दिउँसो साढे २ बजेदेखि सञ्चार सम्पर्क उपकरणमा समस्या आएको थियो ।उक्त समस्याका कारण जहाजसँग बेलाबेलामा सम्पर्क हुने र बेलाबेलामा नहुने समस्या आएपछि जहाजको उडान र अवतरण एक घण्टासम्म रोकिएको थियो ।अवतरणको तयारीमा रहेका केही विमान आकाशमै होल्ड गरेर बसे भने ग्राउन्डमा भएका विमानले उडान अनुमति पाएनन् ।

जहाजसँग सञ्चार सम्पर्क कहिले हुने र कहिले टुट्ने समस्या भएकाले अवतरण गर्न आउनेलाई आकाशमै होल्ड गराइएको र उडान गर्ने जहाजलाई पनि होल्ड गरिएको विमानस्थलका प्रवक्ता सिटौलालले बताए ।उनका अनुसार करीब एक घण्टामा उक्त सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएपछि जहाजको उडान तथा अवतरण नियमित भएको छ । सञ्चार सम्पर्कमा समस्या आउँदा संयुक्त अरब इमिरेट्स र भारतबाट आएका ३ वटा जहाज आकाशमै होल्ड गर्नुपरेको थियो ।यही बेला ३ वटा आन्तरिक उडानका जहाज पनि केही समय होल्ड गरेर अवतरण गरेको जानकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस