निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ : मेयर बालेन

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १८ : १४
निजी विद्यालयले अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ  : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले संस्थागत/निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गरेका छन् । कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाएर अनिवार्य छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उनले आग्रह गरेका हुन् ।

नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्रभित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराएका हुन् । कामपाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ ।

“सो नियमअनुसार निजी तथा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शत प्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ”, उनले भने, “विद्यालयले कूल विद्यार्र्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।”

यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन सम्बन्धित सबै विद्यालयलाई प्रमुख साहले आग्रह गरे । नियमको पालना गर्नु विद्यालयको दायित्व हो । अभिभावक र सरोकारवालाले नियम पालना भए/नभएको निगरानी गर्नुपर्छ । प्रमुख साहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै, अन्यथा अवस्था देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

कामपाभित्र ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गरिरहेको तथ्याङ्क छ । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस