हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर

१ हजार ६८८ जनाको आँखा परिक्षण

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, ११ : २७
हुम्ला र कालिकोटमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर

काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हुम्ला र कालिकोट जिल्लामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हुम्ला र कालिकोटमा सम्पन्न आँखा शिविर मार्फत १ हजार ६ सय ८८ जनाको आँखा परिक्षण गरि २३५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।  

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबं प्राविधिक सहयोग,नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आर्थिक सहयोग र आई केयर फाउण्डेशनको बिशेष सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

चैत्र २५ गतेदेखि २७ गतेसम्म जिल्ला आँखा उपचार केन्द्र, कालिकोटको स्थानीय आयोजनामा चलेको आँखा शिविरमा १ हजार ७८ जनाको आँखा जाँच गरि २०० जनालाई चस्मा वितरण गरिएको थियो भने १९२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि ३ गतेसम्म चंखेली गाऊँ पालिका पिप्लाङ,हुम्लाको स्थानीय आयोजना चलेको आँखा शिविरमा ६१० जनाको आँखा जाँच गरि २१० जनालाई चस्मा वितरण गरिएको थियो भने ४३ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहिन बस्न बाध्य भएका बिरामीहरुले आफ्नो घर आँगनमै आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका थिए । नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोबिन्दनाथ योगिको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलिले आँखा शिविर सञ्चालन गरेको हो । उक्त टोलिले मुगु, हुम्ला र कालिकोट जिल्लामा ४ वटा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौँ निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस