नेपाल टेलिकमले २१७ कर्मचारी हटाएपछि विरोधमा आन्दोलन सुरु

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १६ : ३८
नेपाल टेलिकमले २१७ कर्मचारी हटाएपछि विरोधमा आन्दोलन सुरु

काठमाडौँ । नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएपछि बिरोध सुरु भएको छ । आइतवार दिउँसो टेलिकमबाहिर निष्कासित कर्मचारीहरुले बिरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए । 

 

उनले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताए ।  कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिए । उनले रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको बताए । उनले भने, ‘नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई एक हिसावले कर्मचारीको रुपबाट, उहाँहरुको रोजीरोटी खोसिएको छ, त्यसको बिरुद्धमा धर्ना हो । २१७ जना नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायक कार्यरत कर्मचारीहरुलाई निष्कासन गरेकाले यो धर्ना गरेका हौँ । पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो ।

लामो समय काम गरेका कर्मचारीहरुलाई निष्कासन गरेकोबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ । यसमा सम्पूर्ण पक्षको ऐक्यवद्धता र साथ आवश्यक छ । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक हो, रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकालेको छ । यो स्वेच्छाचारी ढंगबाट निकालिएको छ । लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिएका हौँ ।’उनीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य गर्, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको बिरोध जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस