उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेट

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १३ : १६
उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसनबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच आज शिष्टाचार भेट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा शान्ति प्रक्रिया र नेपालको राजनीतिक स्थीरताबारे राजदूत थम्पसनले चासो राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्य कमल गिरीका अनुसार भेटमा राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिन तयार रहेको बताएका थिए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा पनि राजदूत थम्पसनले चासो लिएका थिए ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताएका थिए । उनले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसदमा पेश भैसकेको जानकारी पनि गराएका थिए ।

साथै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस