महालक्ष्मी विकास बैंकले ल्यायो १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यवसायिक कर्जा

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १६ : ३३
महालक्ष्मी विकास बैंकले ल्यायो १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यवसायिक कर्जा

काठमाडौं। महालक्ष्मी विकास बैंकले १३ प्रतिशतभन्दा कम ब्याजदरमा आवास र व्यवसायिक कर्जा उपलब्ध गराउने स्किम ल्याएको छ। बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको जनाएको छ।

बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि १२.९९ प्रतिशत ब्याजमा पैसा दिने छ। नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने छ। आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु पनि दिने छ।

व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ। हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरबीच पनि बैंकले सुलभ ब्याजदरमा सरलीकृत तवरले कर्जा प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।