मध्यनेपालका तीन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, ११ : ०७
मध्यनेपालका तीन क्याम्पसमा अझै हुन सकेन स्ववियु निर्वाचन

लमजुङ ।  लमजुङको मध्यनेपाल नगरपालिकास्थित ३ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले नेतृत्व पाउन सकेको छैन ।चैत ५ गतेको लागि चुनाव तोकिएको ती क्याम्पसहरूमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु गठन प्रक्रिया अनिश्चित बनेको छ । मध्यनेपाल नगरपालिकामा रहेको ३ वटा क्याम्पसमा राजनीतिक दलबीच मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नं. ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा कांग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नं. ३, सोतीपसलस्थित मंगला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो ।

 चैत ५ गतेको निर्वाचन रोक्न अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीबीच सहमति नजुट्दा स्ववियु गठन प्रक्रिया नै अन्यौल बनेको छ ।ईशानेश्वर र पुष्पलतामा समस्या नदेखिए पनि मंगलामा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा पारेपछि विवाद बढेको हो ।निर्वाचन अधिकृत उदय कँडेलका अनुसार राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भने पनि हालसम्म सहमति हुन सकेको छैन ।

उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्विकार्न नेविसंघका विद्यार्थी तयार छैनन् । मनोनयन भने नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संगै गरेको र अनेरास्ववियुले भने एकल गरेका थिए ।पुष्पलता क्याम्पसका निर्वाचन अधिकृत टीकाराम अधिकारीले सङ्गठन दर्ता भए पनि सहमति गर्ने भनेपछि नोमिनेशन नै दर्ता नभएको बताए । बाहिरै सहमति गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै सहमति लिएर नआउँदा निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको उनले बताए ।

विद्यार्थीहरू सहमति गर्छु भनेर गएका कारण उम्मेदवारी दर्खास्त नै नहालेको जनाउँदै उनले भने त्यसपछि सहमति लिएर विद्यार्थी नफर्केको उनले बताए  ।उता, ईशानेश्वर क्याम्पसका निर्वाचन अधिकृत प्रदीपराज घिमिरेले सहमति गरिएको भनिए पनि विद्यार्थीले यसको ठोस निर्णय ल्याउन नसकेको बताए  ।  मतदान गर्ने बेलामा सहमति गर्छु भनेपछि मतदान कार्य स्थगित गरेकोमा अहिलेसम्म सहमति लिएर कोही पनि नआएको उनले बताए  । अनेरास्ववियु क्रान्तिकारी मध्यनेपाल नगरपालिका अध्यक्ष सुरेश लामिछानेले राजनीतिक दलबीचको सहमतिलाई नेविसंघले नमान्दा समस्या आएको बताए । उनले निर्वाचन प्रक्रिया रोकिएको र त्यसपछि कसैले यसबारे पहल पनि नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस