फ्रान्स र क्रोएसियामध्ये को शक्तिशालि ? यस्तो छ इतिहास

आइतबार, ३१ असार २०७५, १० : २५
फ्रान्स र क्रोएसियामध्ये को शक्तिशालि ? यस्तो छ इतिहास

यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल हो  । आज हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ ।

अविश्वसनीय
फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् र उनी खेलाडी र व्यवस्थापकका दुवैका रुपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन् ।
उनका समकक्षी ज्लाट्को डालिक जम्मा नौ महिनादेखि क्रोएसियाली टोलीका व्यवस्थापक छन् ।  उनी विश्व फुटबलको सबैभन्दा ठूलो सफलताबाट मात्रै ९० मिनेटको दूरीमा छन् । र, त्यसो भयो भने त्यो विश्वकप इतिहासकै सबैभन्दा अविश्वसनीय जित हुनेछ ।

क्रोएसिया: 'सपना, सपना, सपना'
४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो भन्ने तपाईँलाई लाग्नसक्छ । तर त्यो कीर्तिमान युरुग्वेले राखेको छ ।

सन् १९३० मा विश्वकपको उपाधि जित्दा युरुग्वेको जनसंख्या लगभग १७ लाख थियो । फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको डालिक नेतृत्वको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो ।

विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया हो । अहिलेसम्म फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो । २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए । तर त्यसबेला पनि उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए ।
यसपटक उनीहरूको फाइनलसम्मको यात्राले इङ्ग्ल्याण्डको सपना समाप्त पारिदियो । साथै त्यसले जाग्रेब र अन्यन्त्र व्यापक हर्षबढाइँ गरिएको थियो । हजारौँ समर्थकले चोकमा आएर नाचगान गर्नुका साथै रातो, सेतो र निलो बुट्टा भएको झण्डा र पताका फहराएका थिए ।

"सपना, सपना, सपना! क्रोएसिया अब विश्वकपको फाइनलमा पुगको छ," स्पोर्ट्सकी नोभोस्ती समाचारपत्रले लेखेको छ, सन् १९९८ को भन्दा ठूलो उपलब्धितर्फ डोर्‍याएर डालिकले आफूलाई 'दन्त्यकथाको नायक' जस्तो स्थानमा पुर्‍याएका छन् ।

"हाम्रो तेजिलो टोली फाइनलमा पुगेको छ, हामी सपनामा छौँ र अब एक पाइलामात्रै अघि बढ्यौँ भने पनि उपाधि उचाल्नेछौँ," युटार्नयी लिष्टले लेखेको छ ।

फ्रान्सको अभिमत: सन् २०१६ को घाउको ओखती
फ्रान्स स्वदेशमै भएको युरोपेली च्याम्पियनशीपको फाइनलमा पुगेको थियो र उत्कृष्ट टोली भनिएको भए पनि त्यसबेला पोर्चुगलबाट पराजित भएको थियो ।

त्यसबेलाको पराजयको सम्झनाले अहिले राष्ट्रिय टोलीलाई थप बलियो बनाइरहेको छ । सुड ओएस्ट अखबारले आइतवार दुई वर्षको घाउ निको पार्ने अवसर भएको उल्लेख गरेको छ ।
उसले भनेको छ, "यसबेलाको सन्दर्भ फरक छ, खेलाडीहरू थप परिपक्व भएका छन् र हामीसँग किलियान एमबाप्पे पनि छन् ।"

अग्रपङ्क्तिबाट खेल्ने एमबाप्पे एकदमै लयमा छन् र उनी विपक्षी क्रोएसियाले 'खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्नसक्ने' मध्येका एक खेलाडी हुन् । फ्रान्सका सञ्चारमाध्यमहरूले विश्वकप फाइनलका लागि टोलीले गरिरहेको थप प्रशिक्षणको पनि चर्चा गरिरहेका छन् । उनीहरूले क्रोएसियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाए र उनीहरूले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समयमा जिते ।

तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्‍यो । दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लागेको थियो । ले फिगरोका अनुसार क्रोएसिया एकदमै शक्तिशाली प्रतिस्पर्धा हो जोसँग क्षमतावान् खेलाडीहरू छन् र उसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ ।

ले पोइन्टले भने खेलाडीहरूको मनस्थितिलाई जोड दिएको छ । थप गरिएको समयमा खेल्दा पनि क्रोएसियाका खेलाडीहरूको मानसिक अवस्था 'त्रुटिरहित' रहेको छ र उक्त टोली 'अपराजित रहनसक्ने" देखिन्छ ।

सम्भवतः फाइनलमा कुनै एक खेलाडीको प्रतिभाले खेलको छिनोफानो गर्नेछ । विश्वकप शुरू हुँदा यो प्रतियोगिता पछिल्लो पुस्ताकै दुई महान् खेलाडीहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र आर्जेन्टिनाका लियोनल मेस्सीबीचको प्रतिस्पर्धा बन्ने ठानिएको थियो ।

तर दुवै टोली अन्तिम १६ बाट अघि बढ्न सकेनन् र अन्य खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने र सम्मानित सुनको बलको उपाधि जित्ने अवसर खुल्यो । अहिलेसम्म केही खेलाडीहरूले उत्कृष्ट खेल देखाए पनि कुनै पनि खेलाडीले उक्त पुरस्कार प्राप्त गर्ने शैलीको खेल कौशल देखाएका छैनन् ।

के उसो भए उक्त सम्मानका लागि फाइनल खेल नै निर्णायक बन्ने हो त? रोचक के छ भने पछिल्लो ६ संस्करणमा सुनको बल जित्ने खेलाडीहरू विश्वकप विजेता टोलीका सदस्यहरू थिए । यो वर्ष त्यो परिवर्तन पनि हुनसक्छ । क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन् ।

आर्जेन्टिनाविरुद्ध समूह चरणमा उत्कृष्ट खेल्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए । फ्रान्सका अग्रपङ्क्तिका खेलाडी एमबाप्पेले आर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै आफूलाई अब्बल खेलाडीको कोटीमा उभ्याए ।

उनले सन् १९५८ को विश्वकप फाइनलमा किशोर उमेरका ब्रजिलका महानतम खेलाडी पेलेले गरे जस्तो प्रदर्शन क्रोएसियाविरुद्ध चाहना राखेका छन् । फाइनलमा एमबाप्पेसँगै फ्रान्सका लागि तीन गोल गरेका आन्ट्वान ग्रिजम्यानले कस्तो खेल देखाउलान भन्ने चासो पनि सर्वत्र छ । दुवै खेलाडीलाई फाइनलमा उनीहरूले हयाट्रिक अर्थात् तीन गोल गरे भने सुनको जुत्ताका लागि उनीहरूले ६ गोल गरेका इङ्ग्ल्याण्डका हेरी केनकै स्थानमा आफू उक्लिनसक्ने थाहा पाएका छन् । बीबीसी

 

प्रतिक्रिया दिनुहोस