एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिन्छ : सचिव भट्टराई

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, २० : ०३
एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिन्छ : सचिव भट्टराई

सल्यान । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले बहुलवाद आफूहरूको प्रतिबद्धता भएको बताएका छन् । मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत शनिबार सल्यान सदरमुकाम खलंगामा आयोजित जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिने धारणा राखेका हुन् । 

पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले माओवादी तीव्र गतिमा ओरालो लागिरहेको बताए । अब प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व गरे पनि माओवादी पार्टी उकालो लाग्ने कुनै आधार नरहेको उनको भनाई छ । ‘अहिले पुँजीवादी वर्ग र श्रमजीवी वर्गको मुख्य प्रतिस्पर्धा छ । समाजवादी पार्टी र पुँजीवादी पार्टीको प्रतिस्पर्धा छ,’ सचिव भट्टराईले भने, ‘कांग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न सकिँदैन । उसले तल्लो वर्ग र मध्यम वर्गको हितमा काम गर्दैन,त्यस अनुसारको नीति ल्याउँदैन ।’ 

माओवादीले कांग्रेसलाई पछार्न नसक्ने भन्दै उनले एमालेलाई नै बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । पार्टीको मिसन ग्रासरुटलाई बस्तीस्तरसम्म प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिँदै केन्द्रीय सचिव भट्टराईले यस अभियानले पार्टी कमिटीलाई चलायमान बनाउन र कार्यकर्तामा उत्साह सृजना गर्न राम्रो भूमिका खेलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस