गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको हो : अध्यक्ष राउत

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १६ : २१
गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाएको हो : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन। शनिवार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णय अनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताएका हुन।

उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिए । उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरुले उम्मेदवारी फिर्ता नलिने उनले बताए ।

उनले भने, ‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ । निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्यो अनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडी सारेका हौँ । गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजी उहाँकै पक्षमा निर्णय हुनेछ भन्ने । हामी अन्तिममा केही मिलेन भने मित्रवत् प्रतिष्पर्धा हुन्छ । हाम्रो उम्मेदवार सशक्त हुनुहुन्छ । संविधानको रक्षाको लागि तत्पर हुनुहुन्छ । कानूनी पृष्ठभूमिबाट हुनुहुन्छ । उहाँ योग्य हुनुहुन्छ हरेक दृष्टिकोणबाट । त्यहीभएर उहाँले जित्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । अन्तिम बटमलाइन भनेको मित्रवत प्रतिष्पर्धा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस