चितवन–२ उपनिर्वाचनका लागि १८ दल दर्ता

सफल खबर संवाददाता

विहीबार, २५ फागुन २०७९, १६ : २४
चितवन–२ उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडाैं  । चितवनको २ नम्बर निर्वाचन क्षेत्रमा हुने आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि १८ राजनीतिक दल दर्ता भएका छन् ।निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै दर्ता भएका दलको नामावली सार्वजनिक गरेका छन् ।

निर्वाचनको मतपत्रमा समानुपातिकमा प्राप्त मतलाई आधार मान्ने निर्णय गरिएको समेत उनले जानकारी दिए ।

विज्ञप्तिमा उल्लेख छ, ‘संवत् २०८० वैशाख १० गते आइतबार सम्पन्न हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेपालको संविधानको धारा २७१, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १६ को अनुसूची १२ बमोजिम निवेदन पेश हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने र दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगबाट भएको छ । दर्ता भएका राजनीतिक दलहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको छ । सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई ती दलहरूले संवत् २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधि सभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय समेत आयोगबाट गरिएको छ ।’ 

निवेदन दर्ताको क्रमको आधारमा दर्ता गरिएका दलहरूको विवरण –

१. नेपाल मजदुर किसान पार्टी
२. मंगोल नेशनल अर्गनाइजेशन
३. राष्ट्रिय नागरिक पार्टी
४. नेपाली कांग्रेस
५. राष्ट्रिय जनमुक्ति पार्टी
६. राष्ट्रिय जनमोर्चा
७. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) 
८. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
९. राष्ट्रिय स्वतन्त्र पार्टी
१०. नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
११. नागरिक उन्मुक्ति पार्टी
१२. हाम्रो नेपाली पार्टी
१३. पुनर्जागरण पार्टी, नेपाल
१४. मौलिक जरोकिलो पार्टी
१५. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
१६. नेपाली काँग्रेस (बी.पी.)
१७. राष्ट्रिय प्रजातन्त्र पार्टी
१८. जय जन्मभूमि पार्टी नेपाल 

प्रतिक्रिया दिनुहोस