ट्युनिसियामा राष्ट्रपतिको कारबाहीपछि सयौँ आप्रवासीको भागभाग

एजेन्सी

आइतबार, २१ फागुन २०७९, ११ : १८
ट्युनिसियामा राष्ट्रपतिको कारबाहीपछि सयौँ आप्रवासीको भागभाग

एजेन्सी । पश्चिम अफ्रिकी आप्रवासीलाई लिएर आएको दुई उडानमध्ये पहिलो उडानमा शनिबार १०० भन्दा बढी मालीवासीले ट्युनिसिया छोडेको एक कूटनीतिज्ञले एएफपीलाई बताएका छन् ।

गत फेब्रुअरीमा राष्ट्रपति काइस सैयदले अनियमित आप्रवासन नियन्त्रणका लागि ‘तत्काल कदम चाल्न’ अधिकारीहरूलाई आदेश दिएका थिए ।‘ट्युनिसियाको जनसाङ्खिकीय बनावट परिवर्तन गर्न’ ‘आपराधिक षडयन्त्र’ भइरहेको दाबी उनको छ । 

सैयदले उत्तर अफ्रिकी देशमा हुने अधिकांश अपराधमा आप्रवासीको हात रहेको आरोप लगाउँदै समुदायविरुद्ध बर्खास्ती, निष्कासन र भौतिक आक्रमणको क्रम बढेको आरोप लगाए । 

अफ्रिकी सङ्घले सैयदको टिप्पणीको ‘रूप र सारमा गहिरो दुःख र चिन्ता’ व्यक्त गरेको छ । उप–सहारा अफ्रिकाका सरकारहरूले सहयोगका लागि उनीहरूको दूतावासहरूमा भेला भएका सयौँं भयभीत नागरिकहरूको स्वदेश फिर्तीको व्यवस्था गर्न कोसिस गरिरहेका छन् ।

गिनीका ५० जनाको पहिलो समूहलाई बुधबार स्वदेश फर्काइएको थियो ।मालीका १३३ जना नागरिक लिएर शनिबार मध्याह्नतिर ट्युनिसियाबाट एउटा विमान उडेको मालीका एक कूटनीतिज्ञले बताए।

उक्त समूहमा २५ जना महिला, नौ जना बालबालिका र २५ जना विद्यार्थी रहेको नाम नबताउने शर्तमा उनले बताए। आइभोरी कोस्टले शनिबार विशेष उडानमार्फत् करिब १४५ जनालाई स्वदेश फर्काउने तयारी गरेको कूटनीतिज्ञ तथा सामुदायिक आयोजकले बताएका छन् ।

मालीका समूहलाई टुनिसस्थित आफ्नो दूतावासबाट बिहानै बसमा चढेर विमानस्थलतर्फ जाँदै गरेको एएफपीका फोटोपत्रकारले पुष्टि गरे । ‘ट्युनिसियालीहरूले हामीलाई मन पराउँदैनन्, त्यसैले हामी जान बाध्य भएका छौं,’ बस चढ्नुअघि आप्रबासी शरणार्थी बग्रेसु सेगोले एएफपीसँग भने। 

चार वर्षअघि ट्युनिसिया पुगेका अद्रहमेन डोम्बियाले विश्वविद्यालयको अध्ययन बीचैमा रोक्नुपरेको बताए । उनले भने, “म सुरक्षित छैन त्यसैले म फिर्ता जाँदैछु ।”

मालीका अर्का आप्रवासी बारिलले आफूसँग ट्युनिसियामा बस्ने अनुमति भए पनि स्वदेश फर्कने विमानमा सामेल भएको बताए । “हामी राष्ट्रपति काइस सैयदलाई हाम्रा अन्य भाइहरूलाई विचार गर्न र उनीहरूलाई राम्रो व्यवहार गर्न निकै सम्मानका साथ आग्रह गर्दछौं,” उनले एएफपीसँग भने। 

आधिकारिक तथ्याङ्कअनुसार करिब एक करोड २० लाख जनसङ्ख्या रहेको ट्युनिसियामा अफ्रिकाका अन्य भागबाट आएका करिब २१ हजार कागजातविहीन आप्रवासी छन् ।

प्रतिक्रिया दिनुहोस