स्ववियु निर्वाचनमा सहकार्य गर्ने तीन विद्यार्थी संगठनबीच सहमति

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, ०९ : ४५
स्ववियु निर्वाचनमा सहकार्य गर्ने तीन विद्यार्थी संगठनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबीच स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच बुधबार स्ववियु निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । 

अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको ती विद्यार्थी संगठनबीच तीन बुँदे सहमति भएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी महासचिव आरती लामाबीच सहमति भएको हो । 

अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले  तीन विद्यार्थी संगठनले चैत ५ गते हुने स्ववियु निर्वाचन जस्तोसुकै परिस्थितिमा पनि सम्पन्न गर्न साझा प्रतिबद्धता व्यक्त गरेको बताए । स्ववियु निर्वाचन मा सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

स्ववियु निर्वाचन स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिवि र नेपाल सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको एमसीले बताए । यसअघि स्ववियु निर्वाचनमा तालमेल गर्न नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले तीन सदस्यीय कार्यदल बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस