माओवादी बैठक

राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

सफल खबर संवाददाता

सोमबार, ०८ फागुन २०७९, १८ : ५५
राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं । सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

पदाधिकारीको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे निर्णय गर्ने अन्तिम अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको बताएका हुन् ।

उनले भने, ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ ।’ पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको पनि प्रवक्ता महराले जानकारी दिएका छन् । ‘हाम्रो पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो,’ उनले भने ।

पार्टी केन्द्रीय कमिटीको बैठकअघि अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए। नेपालसँग भेटवार्ता गरेपछि प्रचण्ड पार्टी कार्यालय पेरिसडाडाँ पुगेका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई पनि सँगै लैजान चाहेका छन् । र, प्रचण्ड सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि यस विषयमा पटकपटक वार्तामा बसेका छन् । तैपनि वार्ता सकारात्मक देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस