सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता [सहमतिपत्र]

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, १२ : ११
सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता [सहमतिपत्र]

नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने आन्दोलन फिर्ता लिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान सरकारी टोली र संघबीच भएको वार्तापछि ६ बुँदे सहमति गर्दै जारी आन्दोलन फिर्ता लिएर चिकित्सकहरू काममा फर्कन तयार भएका हुन्।

‘नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा गृह मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिसहितको गठित वार्ता टोली र यस संघका पदाधिकारीबीच भएको छलफलबाट निम्न बुँदाहरूमा सहमति भएकोले हालका लागि सम्पूर्ण बन्द तथा आन्दोलनका कार्यक्रमहरू आजैका मितिबाट लागू हुने गरी स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ’, वार्तापछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्ता छन् सहमतिहरू
१. मिति २०७९/१०/२७ गते दिनको ४.१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाको बारेमा वार्ता टोलीमा छलफल भयो। साथै, उक्त घटनामा घाइते हुनु भएका चिकित्सकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।

२. मिति २०७९/१०/२७ गतेका दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन शुरु भई सकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने।

३. घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने। ४. विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “ विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने। नेपाल सरकारले उक्त सुझावहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने।

५. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने। साथै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने।

६. नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ-आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी थिए।

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिक बाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो। पूर्व सूचना नहुँदा नियमित चेकजाँचको लागि अस्पताल आएकाहरु बिरामी अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस