बागमती प्रदेशका सबै जिल्लामा एकीकृत सेवा कार्यालय खुल्ने

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, १३ : १७
बागमती प्रदेशका सबै जिल्लामा एकीकृत सेवा कार्यालय खुल्ने

हेटौंडा। बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने तयारीका लागि प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको छ ।

आज बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्ने उधेश्यले प्रदेशका सबै जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेश सरकारका सबै प्रशासनिक कार्यहरु हेटौंडा र काठमाडौं केन्द्रित हुँदा सेवाग्राही मर्कामा परेको उनले बताए । प्रदेश सरकारले जिल्लाहरुमा सञ्चालन गर्ने योजना कार्यान्वयन र सम्पन्न गर्न समेत समस्या भएपछि एकिकृत सेवा संचालनको आवश्यकता महशुस गरिएको उनको भनाई छ ।

कार्यदलका संयोजक निरौलाले विज्ञसहित आवश्यकता अनुसार कार्यदलको सदस्य नियुक्त गर्नेछन् । कार्यदलको प्रतिवेदनका आधारमा सेवा कार्यालय सञ्चालनको प्रकृया अघि बढ्ने मन्त्री श्रेष्ठले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद् बैठकले तामाङ र नेवार भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न यसअघिको प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनका लागि सामाजिक विकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा अध्ययन कार्यादल गठन गरेको छ ।

समितिको सदस्यमा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ रहेका छन् । कार्यदलमा प्रदेश सरकारका एक जना सचिव र एक जना विज्ञ रहने छन् ।