घरको कौसीलाई थिएटर बनाउने आकांक्षा

सुमनराज श्रेष्ठ

आइतबार, २४ असार २०७५, १८ : ०३
घरको कौसीलाई थिएटर बनाउने आकांक्षा

काठमाण्डौ । घरको कौसीमा पछिल्लो समय घरायसी प्रयोजनको लागि दैनिक उपभोगमा आउने गोलभेँडा, खुर्सानी, धनियाँ, लसुन लगायतका तरकारीजन्य उत्पादन गर्ने प्रचलन बढ्दो छ । फूलका सौखिनहरूले घरको कौसीलाई सानोतिनो नर्सरीको रूपमा पनि विकास गर्ने गर्दछन् । त्यसबाहेक घरका प्रायः कौसीहरू प्रयोगविहीन नै हुन्छन् ।

घरको यस्तै प्रयोगविहीन एउटा कौसीलाई काठमाण्डौको टेकूमा भने नाटक देखाउने र नाटकसम्बन्धी कार्यशाला सञ्चालन गर्ने हेतूले थिएटरको स्वरूप दिइएको छ । पछिल्लो समय नाटक क्षेत्रमा मन, वचन र कर्मले लागिरहेकी रंगकर्मी आकांक्षा कार्कीले आफ्नै घरको कौसीलाई थिएटरको स्वरूप दिएकी हुन् ।

घरको कौसीमा बनाइएकै कारण थिएटरको नाम उनले कौसी थिएटर राखेकी छन् । कौशी थिएटरमा पहिलो नाटकको रुपमा कथा घेराको प्रस्तुतीमा शेल सिल्भस्र्टेनको नाटक ‘दयालु रूख’को मञ्चन समेत भइसकेको छ । उक्त नाटकको निर्देशन पनि स्वयं आकांक्षाले नै गरेकी छन् ।

एउटा युवक र रुखको सम्बन्ध मार्फत ‘दयालु रुख’मा मानिस र प्रकृतिको सम्बन्धलाई दर्शाउन खोजिएको छ । मानिसहरूले दयालु रुख नाटकलाई आफ्नो पारिवारिक सम्बन्ध आफ्ना अभिभावकहरूसँग पनि तुलना गर्न सक्छन् । यो नाटक असार ८ गते देखि २४ गतेसम्म कौसीमा मञ्चन भएको थियो ।

यसअघि उनले अमेरिकी लेखक इभ एन्सलरको दी भजाइना मोनोलगको नेपाली नाट्य रुपान्तर गरि ‘योनीका कथाहरू’ नामक नाटक मार्च ८ को सेरोफेरोमा लगातार ३ वर्ष मञ्चन समेत गरिसकेकी छन् । आउँदा दिनहरुमा पनि यो नाटक निरन्तर रुपमा मञ्चन गर्ने योजना रहेको उनले बताइन् ।

साथै उनले ईजरेल होरोभिट्जको नाटक ‘लाइन’को पनि नेपाली अनुवाद गरी प्रस्तुत गरेकी थिइन्, जुन नाटकलाई दर्शकहरुले समेत एकदमै रुचाएका थिए ।

सानैदेखि विद्यालयको वातावरणले नाटक खेल्न प्रेरित भएको बताउने आकांक्षाले थिएटरको भोकले खाइरहेको जागिर समेत छाडेर नाटकमा लागेको बताइन् । चार–पाँच कक्षादेखि नै विद्यालयमा हुने नाटकहरूमा सहभागि हुन थालेकी आकांक्षाले त्यसपश्चात् १२ कक्षासम्म नै प्रत्येक वर्ष नाटक खेलिन् ।

व्यक्तिगत रूपमा आफुलाई मान्छेहरूसँग बोल्न र अभिव्यक्त हुन असहजजस्तो महशुस हुने भए पनि मञ्चमा पाँच–सात सयजनाको अगाडी उभिएर अभिनय गर्न सक्ने क्षमता आफुलाई नाटकले प्रदान गरेको उनको बुझाई छ ।

भारतबाट सन् २०१५ मा नाटकसम्बन्धी अध्ययन सकेर नेपाल आएदेखि नै कुनै न कुनै रूपमा नाटककर्ममा लागिरहेकी आकांक्षाले कौसी थिएटरको निर्माणको लागि मात्रै ४० लाखभन्दा बढी लगानी गरिसकेको जानकारी दिइन् ।

कौसी थिएटरलाई आर्थिक हिसाबले जोगाइराख्न नाटकसम्बन्धी कार्यशाला सञ्चालनको लागि भाडामा समेत लगाउने उनको योजना छ । यद्यपि आर्थिक मुनाफाकै लागि गुणस्तरमा भने कुनै सम्झौता नगरिने उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस