बागमती सरकारले दुग्ध किसानलाई ३० करोड अनुदान दिने

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १५ : ५४
बागमती सरकारले दुग्ध किसानलाई ३० करोड अनुदान दिने

काठमाडाैँ । बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन  रु ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई वितरण गर्ने जनाइएको छ । मासिक एक हजार पाँच सय लिटर दूध सङ्कलन गर्ने र वार्षिक कम्तीमा २०० दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादक सहकारीलाई दिने बागमती प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ ।
 
सो अनुदानअन्तर्गत दुग्ध सहकारीमार्फत दुग्ध बिक्री गर्ने किसानलाई एक लिटरमा रु पाँच अनुदान दिइने   छ । यसका लागि दुग्ध उत्पादन कृषि सहकारी संस्थाबाट आवेदन सङ्कलन गरी अध्ययन भइरहेको पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय हेटाैँडाका निर्देशक डा व्रजकिशोर ठाकुरले जानकारी दिए।
 
निर्देशनालयले अनुदान कार्यक्रमका लागि सहभागी हुनका लागि सूचना प्रकाशित समेत गरेको छ ।   उनले तीन जिल्लाको आवेदन प्राप्त हुन बाँकी रहेको र यसकोसमेत अध्ययन गरेर आगामी फागुन मसान्तभित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिए ।
 
निर्देशनाले गत आर्थिक वर्षमा  दुई सय ६० दुग्ध उत्पादक सहकारीमार्फत प्रदेशभरिका दुग्ध किसानलाई रु १६ करोड अनुदान वितरण भएको थियो । गत वर्ष किसानले प्रतिलिटर एक रुपैयाँ ६४ पैसा अनुदान पाएको बताइएको  छ ।  २०७६ सालदेखि किसानलाई दूधमा  नगद अनुदान दिँदै आएको सो निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस