सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १४ : ५७
सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए । ‘कोहलपुरबाट पक्राउ गरेर जिल्ला अदालत कैलालीतर्फ लैजाँदैछौं” उनले भने ।

अदालतको उक्त आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेको थियो । २०७४ सालमा लम्कीचुहा नगरपालिकाको मेयर र पछि प्रदेश निर्वाचनमा पराजित चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस