२६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १९ : २४
२६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुशार विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।

प्राप्त सूची अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेयलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ । 

सरकारले अर्थ मन्त्रालयका सहसचिवहरु भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्मालाई गृह मन्त्रालय, रमेश कुमार के.सी.लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बाबुराम सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरेको छ । 

यसैगरी सबैभन्दा धेरैको संख्यामा सरुवा पर्ने सहसचिवहरुमा अर्थ मन्त्रालय रहेको छ । अर्थ मन्त्रालयमा सरुवा गरिएका सहसचिवहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्मा रहेका छन् । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश पोखराका राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यको पनि अर्थ मन्त्रालयमा भएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उनको ठाउँमा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेलाई ल्याइएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्व प्रसाद अर्याललाई बेपत्ता पारिएको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव सुशीला अर्याललाई राष्ट्रिय कितावखाना, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं. १, र त्यहाँका अशोक कुमार साहलाई सहरी विकास मन्त्रालयमा सारिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाललाई गृह मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिस्टार रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

त्यसैगरी राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तम कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्र प्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका यज्ञ कोइराला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।

सरकारले निकै लामो रस्साकस्सी पछि सहसचिवको सरुवा गरेको छ । करिव दुई हप्ताको प्रयास पछि गरिएको सरुवाले कर्मचारीलाई कौतुहलतामा मात्रै राखेन, फेरबदलको सूचीले दौडधुपसमेत बढायो । 

यसै दौडधुपका बिच कैयन् सहसचिवहरूले आफ्नो सरुवा रोकाउन, रोजाउन तथा परिवर्तन गर्न सफल भएका छन् । यसैबिच राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहालको निकै छोटो अवधिमा सरुवा भएको छ । 

नियमित प्रक्रियाका रूपमा लिइने सरुवामा यति धेरै दौडधुप भने पहिलो पटक भएको कर्मचारीहरू बताउँछन् ।