हिन्दु धर्मको पक्षमा खुलेर बोल्दा आनन्द मिल्छ : ऊर्जामन्त्री लिङ्देन

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १४ : ४५
हिन्दु धर्मको पक्षमा खुलेर बोल्दा आनन्द मिल्छ : ऊर्जामन्त्री लिङ्देन

भैरहवा । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

महायज्ञको पूर्ण आहूति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, “नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पीठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पुर्याउने छ ।” उनले यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पुर्याउने हुनाले मैले व्यक्तिगत तरिका र सरकारको तर्फबाट सहयोग गर्ने बताए।

उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताए। उनले यस्ता हिन्दूत्वसम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमले आफूलाई आनन्द दिने गरेको बताए । सत्सङ्गमा सहभागी हुन पाउँदा अन्यको तुलनामा आफूलाई बढी आनन्द हुने गरेको उनको भनाइ छ । कार्यक्रमका मुख्यवाचक बालसन्त मोहनशरण देवाचार्य महाराजले संसद्बाट नै हिन्दूधर्मको पक्षमा बोल्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस