गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ : मन्त्री लिङ्देन

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १६ : ४०
गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्छ : मन्त्री लिङ्देन

काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने धारणा व्यक्त गरेका छन ।

निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले उक्त धारणा व्यक्त गरेका हुन ।

सबै निर्माण व्यवसायीले काम पाउनु पर्छ भन्ने मान्यता राख्दै उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग संचालनका कारण निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने जानकारी गराए ।

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको समस्याले निर्माण कार्य ठप्प रहेको बताए । निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम बीस प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनु पर्ने अध्यक्ष सिंहले बताए ।

व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराए। निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गरे ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा ९ए।डी।० ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने तर्क राखे । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भएपनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताए ।

महासंघ प्रतिनिधिमण्डलमा महासंघ अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, महासंघ कार्य समिति सदस्यहरू दानबहादुर खड्का, उज्जवल गौतम, यज्ञबहादुर खत्री, सुशील कुमार श्रेष्ठ र कार्यालय प्रमुख प्रेमसिंह ऐर रहेका थिए ।

प्रतिक्रिया दिनुहोस