काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरेकी छन्।
माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ।
विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ-आफ्नै ढङ्गले हर्षोल्सासपूर्वक मनाउने गर्दछन्। विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्।
‘सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति भण्डारीले भनेकी छन्।
माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपश्चात घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाइ रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ