देउवालाई ओलीको प्रश्न- आफूले कतिपल्ट संसद विघटन गरियो ?

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, १४ : ५१
देउवालाई ओलीको प्रश्न- आफूले कतिपल्ट संसद विघटन गरियो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा चर्काे भाषण गरेका छन् । मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न बोलाएको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसद विघटन आफूले होइन राजा महेन्द्र र नेपाली कांग्रेसले गरेको बताएका छन् ।

उनले संसद्मा भने, ‘२०१५ मा संसद बन्यो २०१७ सालमा संसद विघटन गर्ने राजा महेन्द्र हुन्, म होइन । २०४८ सालमा निर्वाचन भयो, २०५१ सालमा संसद विघटन गर्ने संसद विघटन गरेर मध्यावधिमा जाने नेपाली कांग्रेस हो, म होइन ।’

अध्यक्ष ओली यतिमा मात्रै रोकिएनन् कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि कडा रुपमा प्रस्तुत भए । २०५८ सालको प्रसंग उप्काउँदै सभापति देउवाले त्यतिबेला संसद विघटन गरेको होइन भन्दै कडा प्रश्न पनि गरे ।

‘गुरुजी आफूले गरेको कुरा कतिपल्ट संसद विघटन गरियो कतिपटक के भो । माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद विघटन मध्यावधिमा गएर आफ्नो आश्विन १८ र १९ पुगेको होइन ! मेरा मित्रलाई म सोध्न चाहन्छु– यहाँले होइन संसद विघटन गर्या ?,’ अध्यक्ष ओली देउवामाथि खनिए, ‘मैले त्यतिबेला समर्थन गरेको थिए अरु सबैले विरोध गर्दा पनि । यदि चुनाव गराउनुभएन भने गलत हो यदि चुनाव गराउनुभयो जनताका बीचमा जाने कुरा ठीक हो भनेर । हामीले राजनीतिमा मौकाअनुसारको व्याख्या गर्ने गर्न हुँदैन, डेमोक्रेसी भनेको के हो, मल्टिपार्टी भनेको के हो, प्रतिपक्षी भनेको के हो, सत्ता पक्ष भनेको के हो ? यसको विश्वव्यापी अभ्यास छ । बहस गर्न चाहन्न । त्यसका लागि शेरबहादुरजीलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति देउवाले सरकारको विरोध नगरेकोमा धन्यवाद पनि दिए । ‘प्रतिपक्ष दलका नेताज्यूले डेमोक्रेसीको नयाँ भाष्य स्थापित गर्नुभएको छ । त्यो देश, विदेश र इतिहासमा छलफल होला यो भाष्यको । नयाँ इन्टरप्रिटेसन छ । उहाँको एक शब्द सरकारको खण्डन गर्नुभएको छैन, सरकारलाई समर्थन गरिरहनुभएको छ । कुरै गर्ने कुरा भएन,’ उनले भने ।