राजस्व संकलनका लागि विशेष योजना बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, १६ : ३९
राजस्व संकलनका लागि विशेष योजना बनाउन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरुसँग छलफल गरेका छन । छलफलका क्रममा उहाँले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धता खोजिएको बताए।

आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिए । लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न उनले निर्देशन दिए ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन मन्त्री पौडेलले आग्रह गरे।

कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन, करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिँदै मन्त्री पौडेलले सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मुलमन्त्र मानी कार्य गर्न आग्रह गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख लगायत उपस्थित थिए । कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस