सैनिक कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

एजेन्सी

मंगलबार, १२ पुस २०७९, १० : १८
सैनिक कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिए

एजेन्सी । नाइजेरियाको वायुसेनाले उत्तरपूर्वी राज्य बोर्नोमा हालै गरेको हवाई कारबाहीमा बोको हरामका एक सयभन्दा बढी लडाकु मारिएका छन्।

बोको हरामका ‘कमाण्डर’ आफ्नो बोर्नोको एउटा गाउँमा सरेको र अन्य स्थानका चरमपन्थी लडाकुहरूसँगै बसेको गोप्य सूचनामा आधारित भएर वायु सेनाले गरेको कारबाहीमा ती लडाका मारिएका नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड ग्याब्क्वेटले बताएका छन्।

वायुसेनाले गरेको हवाई हमलाको पहिलो लहरमा दर्जनौँ लडाका मारिएका, केही जीवित लडाका मारिएकाहरूको शव लिन आउँदा सेनाले गरेको अर्को कारबाहीमा उनीहरूपनि मारिएका उनले बताए। दर्जनौँको अवस्था गम्भीर छ।

सैनिक कारबाही सफल भएको तथा एक सयभन्दा बढी आतङ्ककारीलाई निष्प्रभावी गरिएको सैनिक प्रवक्ताले दाबी गरेका छन्। सेनाको यो कारबाहीले चाडपर्वको याम र आगामी आम निर्वाचनमा निर्दोष नागरिकमाथि आक्रमण गर्ने बोको हरामको क्षमतालाई क्षीण पारिएको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस