गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, ०७ पुस २०७९, १७ : ०७
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रपतिको ध्यानाकर्षण

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । विमानस्थल निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत विमानस्थल सञ्चालन प्रभावकारी हुन नसकिरहेका बेला राष्ट्रपतिले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

रुपन्देही उद्योग संघले बिहीबारदेखि बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपतिले यस्तो बताएकी हुन् । ‘विमानस्थललाई व्यवस्थित रुपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकाससँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित् निकायले तदारूकता देखाउन जरुरी छ,’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले अहिले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै सबै मिलेर आर्थिक क्षेत्रलाई लयमा फर्काउनुपर्ने बताएकी छन् ।

उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् । मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उनको भनाई छ । ‘अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित् निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् । 

राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताइन् । 

राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइन् ।

उनले बुटवलमा आयोजित राष्ट्रिय औद्योगिक प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्ने समेत बताइन् । ‘यसले उद्योगको प्रवद्र्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउँछ, स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरणमा समेत सहयोग पुग्छ,’ उनले भनिन् ।

उनले यस्ता प्रदर्शनीहरुले उद्योगी, उपभोक्ता र सरकारी निकायबीच अन्तरक्रियाकाे अवसर प्रदान गर्ने भन्दै आयोजकलाई धन्यवाद दिइन् । 
 

प्रतिक्रिया दिनुहोस