चिकित्सकलाई पनि लाग्यो चुनाव, ४१ जना चुनावी मैदानमा

सफल खबर संवाददाता

मंगलबार, ०५ पुस २०७९, ०८ : ०३
चिकित्सकलाई पनि लाग्यो चुनाव, ४१ जना चुनावी मैदानमा

काठमाडौं । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । उक्त दिन विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए । 

उनका अनुसार अध्यक्षमा डा. सन्तोष पौडेल, डा. शिवजीविक्रम सिलवाल र डा. अनिलविक्रम कार्की तथा महासचिवमा डा. सञ्जीव तिवारी, डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालको उम्मेदवारी परेको छ ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ । 
    
उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उम्मेदवारको मनोनयन परेको छ । उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ ।

चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको बताइएको छ । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस