आयोग अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा लाग्छ : प्रमुख निर्वाचन आयुक्त

सफल खबर संवाददाता

आइतबार, ०३ पुस २०७९, १६ : ४०
आयोग अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा लाग्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले अब आयोगको काम राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने जानकारी दिए ।

"हामीले निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेशप्रमुखहरुसँग पेस गरिसक्यौं । आज प्रमाणपत्र पनि विरतण भइसक्यो अब सबै काम सकिएको छ । अब संसद् अधिवेशन संसद मार्फत् नयाँ सरकार निर्माण लगायतका कामका लागि मार्गप्रशस्त भएको छ" थपलियाले संचारकर्मीहरुसँग भने ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि त्यसको प्राविधिक तयारी गर्ने जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि बन्ने निर्वाचकमण्डलमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद हुन्छन् । उनीहरुको मतको आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन् । फागुन दोस्रोसातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले त्यही मिति आगाडि आयोगले सबै काम पुरा गर्ने गरी अघि बढ्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस