माओवादी बैठकमा विशेष महाधिवेशनको माग

सफल खबर संवाददाता

आइतबार, १८ मंसिर २०७९, १८ : ५९
माओवादी बैठकमा विशेष महाधिवेशनको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरुले विशेष महाधिवेशनको माग गरेका हुन् । चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन् । 

उनीहरुले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरुले जोड दिएका थिए । यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए । 

पार्टी पदाधिकारीले राखेको धारणाको सबै टिपोट प्रचण्डले गरेको एक नेताले बताए । ‘पार्टीले किन हार्‍यो रु किन मत कम आयो रु भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिबेदनको रुपमा प्रचण्डले तयार गर्ने  छन् ।  त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’

बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्न समेत गरेका थिए । यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षड्यन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तरघातको विषय पनि बैठकमा उठेको बताइएको छ।  

एमालेसँग सहकार्यको ‘सन्देश’ले कांग्रेसमा हलचल, माओवादी यूटर्न 

शनिबार नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा सत्ता गठबन्धनबाहिर पनि विकल्प खोज्न सकिने सन्देश प्रवाह गर्यो । गठबन्धनबाट माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने र त्यो हुन नसकेको खण्डमा एमालेलगायतका दलसँग सहकार्य गर्न सकिने पनि माओवादीको सन्देश थियो । 

पार्टीको शनिबारको पदाधिकारी बैठकबाट त्यो सन्देश प्रवाह भएको २४ घण्टा बित्न नपाउँदै माओवादी केन्द्र यूटर्न भएको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार गठबन्धनबाट पार्टी दायाँबायाँ नहुने भएकाले सोहीअनुसार आफ्नो गतिविधि गर्न पनि नेताहरुलाई निर्देशन दिएका छन् । ‘हामी गठबन्धनकै पक्षमा छौँ र हुन्छौँ’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने, ‘हामी गठबन्धन भन्दा दायाँबाया गर्ने स्थितिमा छैनौ । यसरी जाँदा कसैले लाञ्छना लगाउने भन्ने पनि हुँदैन । यो कुरालाई तपाईँहरुले चिरेर जानुस् ।’

शनिबार माओवादीले एमालेसँग सहकार्य गर्नसक्ने भनेर बाहिर मेसेज गएपनि पार्टी त्यो अवस्थामा नपुगिसकेको प्रचण्डले बैठकमा बताएका थिए । बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि पार्टीले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारे ।

उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि जिकिर गरे । ‘सरकारका विषयमा छलफल प्रवेश भएको छैन । माओवादीसहितको गठबन्धन भएकाले पहिला गठबन्धन घटकहरुबीच कुराकानी हुने कुरा भयो’, उनले भने, ‘छिट्टै गठबन्धनको बैठक बसेर अघि बढिन्छ ।’तर, शनिबार प्रवक्ता कृष्णबहादुर महराले वर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको भएपनि सबै विकल्प खुला राख्ने निर्णय भएको बताएका थिए । 

 ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भनेका थिए, ‘अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको छ ।’ उनले एमालेसँग पनि सहकार्य गर्न सकिने स्पष्ट संकेत गरेका थिए । तर, माओवादीले यस्तो विकल्प खुला राखेको बताएको २४ घण्टा नबित्दै यूटर्न हुँदै सत्ता गठबन्धन कायमै हुने स्पष्ट गरेको हो । महासचिव गुरुङले हिजो विकल्पको विषय बाहिर गएपनि तत्काल यो दिशामा पार्टी नरहेको दोहोर्याइरहे । सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले सोमबार सत्ता गठबन्धनको बैठक बसेर सबै विषयमा छलफल हुने पनि बताए । 

स्रोतका अनुसार माओवादीले विकल्प खोज्ने कुरा बाहिर ल्याएपछि कांग्रेसभित्र हलचल पैदा भयो । त्यसपछि प्रचण्डलाई कांग्रेसका नेताहरुले बाक्लो सम्पर्क गरेका थिए । सभापति शेरबहादुर देउवाले नै यसबारेमा चासो राख्दै माओवादीलाई साथमा लिन नेताहरुलाई अह्राएको बताइएको छ । सोहीअनुसार  कांग्रेसका नेताहरुले सबै विषय छलफलबाट टुंगिने भएकाले दायाँबायाँ नगर्न आग्रह गरेका थिए । सोहीअनुसार सोमबारका लागि गठबन्धनको बैठक राखिएको र मिलेर अघि बढ्नका लागि छलफल सुरु गरिने नेताहरुको भनाइ छ । कांग्रेसका नेताहरुको आग्रहकै कारण प्रचण्डले आजको बैठकमा गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गर्दै सोही अनुसार अघि बढ्न नेताहरुलाई निर्देशन दिएको बताइएको छ।
 

प्रतिक्रिया दिनुहोस