नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, १२ : ०५
नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे । अब जिल्लाबासीलाई डायलासिस बाहेकका अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने वातावरण बन्ने दखिएकाे छ।

नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरु भएको छ। डायलासिस सेवा जिल्लामै सञ्चालन भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । यसअघि बिरामीहरु डायलासिस गर्न भरतपुर जानुपर्ने बाध्यता थियो । मृगौला बिरामीहरूका लागि जिल्ला अस्पतालले डण्डामा ४ वटा उपकरण राखेर डायलासिस सेवा सुरु गरेसँगै अहिले सहज भएको छ । भरतपुर अस्पतालबाट आएका स्वास्थ्यकर्मीले यो सेवा सञ्चालन गर्न सघाएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर अस्पतालमा यो सेवा सुरु गरिएको हो । मध्यबिन्दु अस्पताल बाहेक नवलपुरका अन्य कुनैपनि निजी वा सरकारी अस्पतालमा डायलासिस सेवा छैन । पहिलो पटक कावासोतीको डन्डामा रहेको मध्य बिन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु गरिएपछि छिमेकी जिल्ला चितवन र काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको ११ वर्षदेखि भरतपुरमा डायलासिस गराउँदै आएकी चित्रकुमारी मल्लले बताइन्। यहाँ सुरु भएको सेवाले पैसा र समय दुवै बचत भएको बताइन् ।

मध्य बिन्दु जिल्ला अस्पतालले जनशक्ति व्यवस्थापनदेखि थप बेड व्यवस्था गरेर जिल्लाभित्रका सबै बिरामीलाई अस्पतालमै सेवा दिने गरी तयारी थालेको छ । अस्पतालले पहिलो सत्रको रुपमा अहिले ९ जना मृगौला रोगी विरामीलाई मात्र सेवा दिएको छ । नवलपुरमा कम्तिमा ८० जना मृगौला रोगीहरूले डायलासिस गरेको मध्य बिन्दु जिल्ला अस्पतालले तथ्यांक संकलन गरेको छ ।

जसका लागि अस्पतालमा रहेका ४ वटा मेसिन पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्नेछ भने अस्पतालमा डायलासिस सेवामा मात्रै १० वटा बेड सञ्चालनमा ल्याउनु पर्ने अस्पतालका मे.सु (सुपरिटेन्टेण्ट) जितेन्द्र कँडेलले बताए ।

मध्यबिन्दु जिल्ला अस्पताललाई थप व्यवस्थापन गर्न दक्ष जनशक्ति, पर्याप्त उपलब्धतासँगै आवश्यक सेवा सुविधाहरू सरल र सहज ढंगबाट उपलब्ध हुनुपर्छ । यसले जिल्लाबासीलाई डायलासिस बाहेकका अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने वातावरण बन्ने छ ।

प्रतिक्रिया दिनुहोस