नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, १९ : २४
नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् ।

उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताए । उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए ।

गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे । उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो । यो निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन आयोग र मतदानमा खटिनुभएका मान्य न्यायाधिशज्युहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवक कर्मचारीहरु, नेपाली मतदाताहरुको अपूर्व योगदानका कारण नै मतदान सम्पन्न भएको छ । यो निर्वाचनले संविधानलाई बल पु¥याएको छ । यो राष्ट्रिय दायित्व सरकारले पूरा गरेको छ । यस क्रममा सुरक्षा निकायका केही अधिकृत जवानहरु पनि दिवंगत हुनुभएको छ । नागरिकको पनि बलिदान भएको छ ।’

उनेल थपे, ‘उहाँहरुको परिवारका लागि भरणपोषणका लागि सरकारले राहत पनि उपलब्ध गराउने छ । निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गरिनेछ र कर्मी कजोरीलाई सुधार्दै जानेछ । सिमित श्रोत र साधनका बाबजुद पनि निर्वाचन सम्पन्न गर्ने काममा उहाँहरु अहोरात्र खटिनुभएको छ । निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ । राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामुहिक प्रयत्न गर्नेछ । शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ ।’

गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे । उनले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस