काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यक्ता रहेको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् ।
उनले नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली काँग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए ।
उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए ।
महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली काँग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ । मैले यसलाई स्वभाविक रुपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो ।’
उनले फेरि भने, ‘तपाईको आशिर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरुलाई पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरुको नै आवश्यक्ता थियो । उहाँहरुको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली काँग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ ।’
पार्टी भन्दा पनि माथि राखेर हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा रहेको उनले बताए । उनले भनेका छन्, ‘व्यवस्थाप्रति नागरिकहरुको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरुलाई बुझाउन सकिन्छ ।’
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश काँग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उहाँले सबै नेताहरुले सहयोगको वाचा गरेको बताए । महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने र काँग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा