भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने

एजेन्सी

आइतबार, ११ मंसिर २०७९, १९ : २८
भारतले आगामी गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउने

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसी आगामी वर्ष अर्थात् सन् २०२३ भारतको गणतन्त्र दिवसमा आयोजना हुने परेडमा प्रमुख अतिथि हुने भएका छन् । भारतको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजिप्टका राष्ट्रपति देशको गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने जानकारी दिएको छ ।

भारत र इजिप्टबीच घनिष्ट सम्बन्ध रहेको र यस वर्ष दुई देशले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ मनाउन लागिएको पनि विज्ञप्तिमा उल्लेख छ । भारतका विदेश मन्त्री एस जयशंकरले अक्टोबर १६ को इजिप्टको भ्रमणको क्रममा सिसीलाई भारतीय प्रधानमन्त्रीतर्फबाट औपचारिक आमन्त्रण दिएका थिए ।

इजिष्टका राष्ट्र प्रमुखलाई आमन्त्रण गरेर नयाँ दिल्लीले अरब विश्व आफ्नो प्राथमिकतामा रहेको कुरामा प्रकाश पारेको विश्लेषण गरिँदैछ । यस विषयका जानकारहरुले भारतले यो वर्ष अरबी मुलुकहरूमा उच्चस्तरीय भेटवार्ताको तयारी भईरहेको बताएका छन् ।

जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस समारोहमा बोलाईने प्रमुख अतिथि भारतका घनिष्ठ सहयोगी तथा साझेदार मुलुकका राष्ट्र प्रमुख हुने गर्छन् । सन् २०२१ र २०२२ का समारोहहरूमा प्रमुख अतिथिहरू थिएनन् । त्यसको कारण कोरोना महामारीको उत्पन्न अवरोधलाई देखाइएको थियो । सन् २०२० ब्राजिलका तत्कालीन राष्ट्रपति जैर बोल्सोनारो गणतन्त्र परेडमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

६८ वर्षीय पूर्व जनरल र हालका राष्ट्रपति अल–सिसी गणतन्त्र दिवस समारोहमा सहभागी हुने पहिलो इजिप्टेली नेता हुदैंछन् । यी दुई मुलुक सन् १९६१ मा मुलुक असंलग्न आन्दोलनका सस्थापक मुलुक भएका नाताले दशकौंदेखि घनिष्ट छन् ।

साउदी अरब,ओमन र संयुक्त अरब इमिरेट्सका लागि भारतका राजदूतका रहिसकेका ताल्मिज अहमदले सिसीलाई निमन्त्रणा दिएर भारतले इजिप्टको गम्भीर आर्थिक सङ्कटपछिको पुनरुत्थान,यसको स्वतन्त्र विदेश नीतिलाई अनुमोदन गरेको बताए ।

इजिप्टले अरब क्रान्तिको प्रतिरोध र पछि गम्भीर आर्थिक संकटको सामना गर्यो । तर केही वर्ष यता इजिप्टले आर्थिक पुनरोदय गरेको छ र क्षेत्रीय प्रभाव विस्तार गर्न थालेको छ । इजिप्टले सिरिया,यमन र टर्कीसँगको सम्बन्धमा अन्य खाडी मुलुकबाट स्वतन्त्र नीति लिईरहेको देखिन्छ । इजिप्टले इराक र इरानसँग पनि अलग रुपमा अघि बढिरहेको छ , पूर्व राजदूत अहमदले थपे ।

भारतले इजिप्टलाई अफ्रिका र पश्चिम एशियाबीचको सेतुको रूपमा हेर्ने गर्छ । पश्चिम एशियालाई नयाँ दिल्लीले आफ्नो विस्तारित छिमेकीको रुपमा हेर्छ । इजिप्ट परम्परागत रूपमा अफ्रिकामा भारतको सबैभन्दा महत्वपूर्ण व्यापार साझेदारमध्ये एक हो । सन् २०२०–२१ मा इजिप्ट भारतको आठौं ठूलो व्यापारिक साझेदार थियो ।

भारत र इजिप्टबीचको द्विपक्षिय व्यापार सन् २०१२–१३ मा सबैभन्दा उच्च करिब ५.४५ अर्ब डलर पुगेको थियो । तर आर्थिक मन्दी र तेलको मूल्यमा आएको गिरावटका कारण यो व्यापार २०१६–१७ मा ३.२३ अर्ब डलरमा झर्यो । सन् २०१७–१८ बाट फेरी व्यापार बढ्न थालेको छ,जुन सन् २०२०–२१ सम्ममा ४.१५ अर्ब डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस