काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम रहस्यमय रहेको बताएका छन् ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम आएपछि पहिलो पटक प्रतिक्रिया दिँदै भने, ‘चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुईको मैले पनि पाएको छु । यसको पनि मूल्याङ्कन हुने नै छ । र, कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन । यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ ।’
चुनाव एउटा राजनीतिक प्रक्रिया रहेको उल्लेख गर्दै उनले जसमार्फत जनताले आफ्नो प्रतिनिधि छान्नेको छ त्यसलाई आफ्नो साथ सहयोग रहने प्रतिक्रिया दिएका छन् । निर्वाचनको नतिजाले आफूहरुको यात्रालाई कुनै असर नपार्ने बताउँदै उनले एक इन्च पनि तलमाथि नभईकन जनताको म्यान्डेट अनुसार आफ्नो मिसनमा लागिरहने प्रतिवद्धता जनाए ।
यो संविधान त्रुटिपूर्ण र त्यसमा असमानताहरू रहेको बताउँदै उनले अझै पनि सङ्घीयता वास्तविक रूपमा सङ्घीयता जस्तो हुन नसकेको दावी गरेका छन् । प्रदेशलाई अधिकार सम्पन्न र बलियो बनाउन सकिएको छैन, हरेक समुदायले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व गर्न पाउने अधिकार सुनिश्चित नभएको बताउँदै उनले यस संविधानले विभिन्न राष्ट्रियता जातीय समुदायहरूको पहिचानलाई सम्बोधन गर्न नसकेको बताए ।
संविधानले बहुभाषिक नीतिलाई अवलम्बन गरी अभ्यासमा ल्याउन नसकेको उल्लेख गर्दै उनले यस संविधानले अझै पनि गलत शासकीय स्वरूपलाई अंगालेको बताए । उनले भने, ‘यो संविधानले विकृति मूलक निर्वाचन प्रणाली अपनाएको छ । स्वतन्त्र न्यायालय भए तापनि न्यायालयसम्म सबै नागरिकको पहुँच हुने गरी संरचना बनाउन सकिएको छैन । जसले गर्दा न्याय पाउने आधारभूत अधिकारबाट आज पनि लाखौँ जनता वञ्चित हुनुपरेको छ । त्यसैले संविधान संशोधन र परिवर्तनको लागि हामी अझै पनि सङ्घर्षरत छौँ ।’
अबको प्रयास भनेको प्राप्त उपलब्धिहरूको संरक्षण र बाँकीको लागि सङ्घर्ष गर्दै आर्थिक उन्नती मार्फत समतामूलक विकासकै लागि रहने भन्दै उनले मधेस विश्वविद्यालय, मधेस प्रदेश कृषि विश्वविद्यालय, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कलेज र ईन्जीनियरिङ कलेज, सडक सञ्जाल, शिक्षामा छात्राहरूको पहुँच लगायतका प्रयासहरू यसै उद्देश्य पूर्तिको पूर्वाधारहरू रहेको बताएका छन् ।
निरङ्कुश शासनको विरुद्धमा वामपन्थी राजनीतिक धारबाट प्रेरित भई विद्यार्थी राजनीतिमार्फत सङ्घर्ष सुरु गरेको उल्लेख गर्दै अध्यक्ष यादवले २०३२ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएकोले तत्कालीन शासकहरूको आदेशमा पहिलो पटक जेल परेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव
उपेन्द्र यादवको चेतावनी : भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव