‘जितेर गएपछि फर्केनन्’ भन्ने जनगुनासो मेटाउने गरी काम गर्छु : प्रेम महर्जन

सफल खबर संवाददाता

बुधबार, ०७ मंसिर २०७९, १३ : २६
‘जितेर गएपछि फर्केनन्’ भन्ने जनगुनासो मेटाउने गरी काम गर्छु : प्रेम महर्जन

काठमाडौं । ललितपुर क्षेत्र नं २ बाट झण्डै दोब्बर मतान्तरले जित हात पारेका नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेमबहादुर महर्जनले जनगुनासो नरहनेगरी काम गर्ने बताएका छन । १५ हजार २५ मतसहित जित हात पारेको उनीसँग गरेको कुराकानी :

पहिलो निर्वाचनमा जसलाई जिताउनु भएको थियो । उसैलाई हराउनु भयो, हैन ? राजनीति धेरै पेचिलो हुँदो रहेछ, होइन ?

राजनीति स्वभाविक रुपमा पेचिलो हुन्छ । नेपाल एउटा संघीय लोकतान्त्रिक गणतन्त्रमा अभ्यास गरिरहेको हुँदा यहाँ दलगत रुपमा, स्वतन्त्र रुपमा सबैले आफ्नो उम्मेदवारी दिन पाउँछन । र, उम्मेदवारहरु जनताको बीचमा जान पनि पाउँछन । त्यो अधिकार हो । र, जनताबाट हामी सबैले मत प्राप्त गरेका छौं । सबैभन्दा बढि मत आएको हुनाले म निर्वाचित भएको हुँ । र, अन्य उम्मेदवारहरुलाई मैले हराउनुपर्ने आवश्यक्ता थिएन । उहाँहरु आफैंले प्राप्त गरेको मत मेरो भन्दा कम भएकाले उहाँहरु पछाडि पर्नु भएको मात्र हो ।

निर्वाचित त हुनुु भयो । तर अपेक्षा अनुसार मत आउन सकेन । विपक्षमा तपाईले पाएको भन्दा धेरै मत छ । यस्तो कसरी हुन गयो भन्ने लाग्छ यहाँलाई ?

यस पटकको निर्वाचनमा हामीले सोचेभन्दा फरक ढंगले मत परिणाम आएको छ । मलाई पनि यस्तै लागिरहेको छ । तर कुरो के हो भने हाम्रो केही खालको एक ठाउँमा आउनु पर्ने थियो । तर त्यो धेरै खालका उम्मेदवारहरु भएको कारणले गर्दा मतहरु विभाजित हुँदै गयो । अन्तमा ती विभाजित मतहरुलाई जोड्ने गरी अघि बढने क्रममा मेरो भावी कार्यक्रमहरुले तय गर्नेछ ।

नेकपा एमालेको मत धेरै विभाजित देखियो । यसलाई कसरी जोडनु हुन्छ ?

स्वभाविक रुपमा पार्टीहरुको विभिन्न कठिनाईले गर्दा आ–आफ्नो धु्रवीकरण हुँदाखेरी मत परिणाममा फरक आउनु र त्यसमा विभाजित हुनु स्वभाविक कुरा हो । । तर, यी कुराहरुलाई पार्टीको मार्ग निर्देशक सिद्वान्त अनुसार जनताको बहुदलीय जनवादले सबैलाई समेटने एउटा नीति, कार्यक्रम अनुसार भोली समेट्दै जाँदा यी मतहरु पछि जोडिन सक्छ भन्ने लाग्छ । र, दोस्रो कुरा म निर्वाचित सांसदको हैसियतले यस क्षेत्रमा गरिने मेरो हरेक क्रियाकलाप, गतिविधि, सोच र भिजनले पनि यी मतहरु जोडिदै जानेछन भन्ने मलाई लाग्दछ ।

अब तपाईको काम कसरी अगाडि बढछ ?

म सबभन्दा पहिले म जनताको बीचमा जान्छु । हरेक जनताका समस्याहरुलाई बुुझ्दछु । र, ती समस्याहरुलाई मेरो तर्फबाट गर्न सक्ने अधिकतम प्रयास गरेर म ती जनताका अपेक्षाहरु पूरा गर्नेतिर लाग्छु । र, त्यसो हुँदा सायद मलाई लाग्छ–मेरो २ नम्बर क्षेत्रका सम्पूर्ण जनसमूदायको भावनालाई कदर गरेर मैले अगाडि बढे भने र मेरो भावी योजनाहरु पनि थुप्र्र्रै राखेको छु । ती योजनाहरुलाई पनि सम्भव भएसम्म मैले पूरा गर्दै अगाडि बढनेछु ।

र, ती कामहरुमा चाहे भौतिक निर्माण होस्, चाहे शिक्षा र स्वास्थ्यको क्षेत्रमा होस् । चाहे रोजगारीको क्षेत्रमा होस् । चाहे हस्तकला, पर्यटन क्षेत्र, आर्थिक क्षेत्र र समृद्ध नेपाल बनाउनका निमित्त विविध कार्यक्रमहरु अगाडि बढाएर मैले भविष्यमा यस क्षेत्रका सम्पूर्ण जनसमूदायहरुको भावनालाई मात्रै होइन् वास्तविक रुपमै रोजगारी सृजना गर्ने, यहाँको पर्यटन विकास, साँस्कृतिक क्षेत्रको विकास, यहाँको सामाजिक विकासलगायतका यहाँको भौतिक पूर्वाधारहरुको विकासमा म तल्लीन भएर निरन्तर लागि रहन्छु ।

त्यसरी लागिसकेपछि मैले गर्न सक्ने सबै कामहरु गरिसकेर पनि जनताको भावनालाई बुझेर अझ हिजोका दिनमा जनताको सामुन्ने जितेर गएपछि नेताहरु फर्केर आउँदैनन् भन्ने खालको जुन सवाल छ । त्यसलाई मेटाउनका निमित्त म निरन्तर जनताको बीचमा जानका निमित्त प्रत्येक हप्तामा म एउटा टोलमा घुम्ने गरी म आफू लाग्छु । यसले गर्दाखेरी मलाई लाग्छ–जनताले पक्कै पनि निर्वाचित सांसदहरु आएका छन । जनताको दुःख बुझेका छन । घरदैलोमा आएर समस्या बुझेका छन भन्ने कुरा लागिसकेपछि जनताको वास्तविक प्रतिनिधिको रुपमा म उभिन्छु भन्ने मलाई लाग्दछ ।

अन्तमा आफ्नो मतदाता, शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?

म आफूलाई निर्वाजित गर्ने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । र, मतदाताहरु मात्र नभई यहाँका जनसमूदायको भावनालाई बुझेर म ललितपुरको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएका धेरै कुराहरु छन । त्यसलाई संस्थागत गर्ने र त्यसको भावनालाई बुझेर मैले अझ सहीदहरुको भावनालाई समेत कदर गरेर म अगाडि बढछु । र, वास्तविक रुपमा यहाँको सुशासन, यहाँको विकासका कुराहरुमा पनि निरन्तर लागिरहनेछु । यसका निम्ति मैले अन्य जनप्रतिनिधिहरु पनि छन । स्थानीय तहमा छन, अन्य राजनीतिक दलहरुका जनप्रतिनिधिहरु पनि छन । उनीहरु सबैसँग पनि सहमती, सरसल्लाह गरेर अगाडि बढछु । सामाजिक संघसंस्थाहरुसँग पनि सल्लाह गरेर अगाडि बढदाखेरी म यहाँको जनताको सम्पूर्ण भावनालाई समेटन सक्दछु भन्ने लाग्दछ ।

प्रतिक्रिया दिनुहोस