सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री खाण

सफल खबर संवाददाता

विहीबार, ०१ मंसिर २०७९, १९ : ०२
सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचन घरदैलोका क्रममा रुपन्देहीमा राससलाई दिनुभएको अन्तवार्तामा उनले भने, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।”

उनले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसङ्ग उल्लेख गर्दै भने, “पहिलेपहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहार्दपूर्णरुपमा निष्पक्षरुपमा सम्मपन्न गर्यौँ, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको जानकारी उनले दिए।

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र सोहीबमोजिम नै नागरिक तथा मतदानपछि मतपेटिका र सबै अवस्थाको सुरक्षा चुस्त बनाइएको गृहमन्त्री खाणले बताए।

उनले कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गरे। एक प्रश्नमा उनले नेपाली कांग्रेस आगामी निर्वाचनपछि सबैभन्दा ठूलो दल बन्ने दाबी पनि गरे।

उनले भने, “नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ र कांग्रेस नेतृत्वकै सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार निर्माण गर्न मिल्ने सजिलो बहुमत हासिल गर्दछ ।” इतिहासमा समय समयमा मुलुकलाई सङ्कट परेकाबेला नेपाली कांग्रेसले नै नेतृत्व प्रदान गर्दै आएको, कोरोना महामारीको सङ्कट साथै संविधानमाथि नै हस्तक्षेप गरी संसद् विघटन भइरहेका बेला संविधान र प्रजातन्त्रको संरक्षणका लागि कांग्रेसले नै नेतृत्व प्रदान गरेको विगतको यथार्थका कारण यसपटक पनि नेपाली जनताले कांग्रेसलाई पहिलो पार्टी बनाउने उनको भनाइ थियो ।

अर्को एक प्रश्नमा उनले सत्तारुढ गठबन्धनले आसन्न निर्वाचनमा स्पष्ट बहुमत ल्याउने र यही गठबन्धनको सरकार बन्ने पनि दाबी गरे। निर्वाचनपछिको प्रधानमन्त्री को हो भन्ने प्रश्नमा उनले अहिले नै यसको निक्र्यौल नभएको र चुनावपछि यसको निर्णय हुने बताए।

प्रतिक्रिया दिनुहोस