बाग्लुङ । ढोरपाटन सिकार आरक्षमा वर्षको पहिलो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर र झारलको सिकारमा रमाइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यो याममा नौ नाउर र छ झारलको सिकार अनुमति दिएको थियो ।
केही सिकारी सिकार खेलेर फर्किसकेका छन् भने कोही आरक्ष पुग्ने सुरसारमा छन् । सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीका अनुसार तोकिएका कोटामध्ये पाँच नाउर र दुई झारलको सिकार भइसकेको छ । उनको कम्पनीमार्फत ढोरपाटन पुग्नुभएका जर्मन सिकारीले फागुने ‘ब्लक’मा झारलको सिकार गरेर फर्किसकेका छन् । नाउर सिकारका लागि केही दिनमा अमेरिकन सिकारीसहित जाने तयारी भइरहेको प्रबन्ध निर्देशक पराजुलीले बताए ।
‘बार्से’ ब्लकमा नाउरको सिकार गरिनेछ । “हाम्रो कम्पनीमार्फत नाउर सिकारका लागि क्यानेडियन नागरिक पनि आउने तय भएको थियो, अस्वस्थताका कारण अन्तिममा उहाँ आउन सक्नुभएन”, प्रबन्ध निर्देशक पराजुलीले भने, “अरु पनि केही सिकारी नआएका कारण तोकिएजति नाउर र झारलको सिकार नहुने भएको छ ।” सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले दुई अमेरिकन सिकारी दोगाडी र घुस्तुङ ‘ब्लक’मा सिकार खेलेर गत मङ्गलबार फर्किएको बताए । “यही कात्तिक २ गते आरक्ष पुगेको हाम्रो कम्पनीको सिकार टोली झण्डै दुई साता त्यहाँ बिताएर फर्किसकेको छ”, उनले भने, “यो यामको सिकार अब अन्तिमतिर आइपुगेको छ, आउँदो मङ्सिर दोस्रो साताभित्र सबै फर्किसक्छन् ।”
आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । सिकार खेल्न खर्चिला पर्यटक ढोरपाटन आउँछन् । विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा एउटा नाउर सिकारमा रु २० लाख र झारललाई रु छ लाखसम्म राजस्व तिर्न कम्पनी तयार भएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक पराजुलीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ कार्तिक २०७९, १९ : ५७
लेखकबाट थप