संशोधनवादविरुद्ध नलडिकन क्रान्ति पूरा हुने अवस्था छैन : मोहन वैद्य

सफल खबर संवाददाता

शनिबार, १९ कार्तिक २०७९, १८ : १५
संशोधनवादविरुद्ध नलडिकन क्रान्ति पूरा हुने अवस्था छैन : मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवादबिरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेशी समुदायको मुक्ति हुन नसकेको बताएका हुन् ।  उनले जातीय, वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे । वैद्यले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडीया शोषणवादका विरुद्ध लड्दै गर्दा संशोधनवादका विरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए । उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादविरुद्ध नलडिकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए ।

उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रूपमा पूरा हुन नसकेको जिकिर गरे ।  ‘हामीले देशमा रुपान्तरणको लागि सामन्तवादका विरुद्ध, साम्राज्यवादका विरुद्ध, बाहुनवादका विरुद्ध वर्गीय, जातीय, महिला, दलित, मधेशी, सबैसबैको मुक्तिको निम्ति धेरै रगत बग्यो । थुप्रै योद्धाहरूले शाहदत प्राप्त गरे तर अझै मुक्ति प्राप्त हुन सकेको छैन । अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ । जातीय, मुक्ति, वर्गीय मुक्ति र सबै मुक्तिको निम्ति संघर्ष गर्न जरुरी छ ।

धेरै संघर्ष गरियो तर मुक्ति प्राप्त गर्न सकिएको छैन’, वैद्यले भने, ‘यसका लागि पुनः संघर्ष जरुरी छ । सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवादका लागि लड्ने पनि ठीक छ, पहाडीया शोषणवादका विरुद्ध लड्ने पनि ठीक छ, तर यसको साथमा संशोधनवादका विरुद्ध पनि लड्नुपर्छ । संशोधनवादका विरुद्ध नलडिकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ । त्यसकारणले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने छ, क्रान्ति पूरा भएको छैन ।’

महासचिव वैद्यले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको स्थापना गरी साम्यवादको प्राप्तिको निम्ति दृढतापूर्वक अघि बढ्नुपर्ने बताए ।