निहारिकाको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, १५ : ५४
निहारिकाको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

जनकपुरधाम । निहारिका सिंह राजपुतका छोराको डिएनए शिवराज श्रेष्ठसँग मिलेको छ। विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो।

उच्च अदालत जनकपुरकी वैतनिक वकिल रिंकु यादवका अनुसार रिपोर्टले बच्चाको बाबु शिवराज नै भएको पुष्टि गरेको छ। शिवराजलाई २५ गतेको तारिख दिइएको भन्दै उनले भनिन्, ‘डिएनए रिपोर्ट आउनुभन्दा अगाडी पेशीमा चढाउन सकिदैन थियो अब रिपोर्ट आइसकेको छ। अब शिवराज हाजिर भएपछि अब पेशीमा चढ्छ।’

सुरुमा श्रीमानले खान लगाउन नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषा र प्रशासन कार्यालयमा निवेदन दिएकी राजपुतले पछि आफूमाथि बलात्कार भएको दाबी गर्दै जोहरी दिएकी थिइन्।

बलात्कारबाटै छोराको जन्म भएको दाबी गर्दै उनले शिवराजलाई कानुनी दायरामा ल्याउन माग गर्दै अनशनलगायतका आन्दोलन समेत गर्दै आएकी थिइन्। महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारीकाले शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको बताउने गर्छिन्। जिल्ला अदालतले भने बलात्कार आरोपमा शिवराजलाई सफाइ दिइसकेको छ।

बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले भदौ ८ गते दुबै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस