टी–२० विश्वकपबाट बाहिरिएको नेदरल्यान्ड्सको पहिलो जित

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १४ : २९
टी–२० विश्वकपबाट बाहिरिएको नेदरल्यान्ड्सको पहिलो जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको नेदरल्यान्ड्सले शीर्ष १२ अन्तर्गत समूहको चौथो खेलमा पहिलो जित निकालेको छ। नेदरल्यान्ड्सले बुधबार भएको खेलमा जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। नेदरल्यान्ड्ससँग पराजित भएसँगै जिम्बाब्वेको सेमिफाइनल सम्भावना थप कमजोर बनेको छ।

एडिलेटमा भएको खेलमा जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई १ सय १८ रनको कमजोर लक्ष्य दिएको थियो। जवाफमा नेदरल्यान्ड्सले उक्त लक्ष्य १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै टम कुपरले ३२ रन बनाए। बास डी लिग १२ रनमा अविजित रहे। जिम्बाब्वेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई–दुई तथा लुक जोंग्वेले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो। जिम्बाब्वेका लागि सिकन्दर राजाले ४० रन बनाउँदा सिन विलियम्सले २८ रन जोडेका थिए। नेदरल्यान्ड्सका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिएका थिए।

त्यस्तै ब्राण्डन ग्लोभर, लोगान भान विक र बास डी लिडले २–२ विकेट लिए। यस जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ। जिम्बाब्वे ४ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस